सम्पादकिय
आइटीनको आफ्नै भवन
आइटीनका पाठ्यक्रमहरूको लोकप्रियता अत्यन्त बढेर गइरहेको छ। नेपालमात्र नभई विश्वका अन्य राष्ट्रहरू जस्तैः यू.ए.ई., भारत, कोरियामा रहेका नेपालीहरूबीच पनि यी पाठ्यक्रमहरू अत्यन्तै लोकप्रिय र प्रभावकारी भएका छन्।
सुरुवातदेखि नै आइटीन भाडाको घरमा सञ्चालन भइरहेकोमा गत केही वर्षहरूमा आफ्नै जग्गा र घर 2006 सालमा भइदिए कामको प्रभावकारिता बढी हुने, कार्यकर्ताको मनोबल पनि बढ्ने साथै मासिक खर्च पनि घट्ने देखेर आइटीनको राष्ट्रिय बोर्डले यसतर्फ पाइला सारेको थियो। यसैक्रममा जर्मनीका मित्रहरूको सहयोगमा एउटा घर खरिद गरिएको छ तर यो यथेस्ट भने छैन। त्यसैले अझै रकम जम्मा गरी हालको जग्गामा घर थप्ने वा यो विक्री गरी नयाँ ठाउँमा जग्गा खरिद गरी स्थायी भवन बनाउने विचार गरिएको र यसै सिलसिलामा गत दुई वर्षहरूमा सबै शिक्षक, विद्यार्थी तथा शुभचिन्तकहरूबाट पठाइएको मासिक भेटी, आशिष्को थैली र अन्य भेटी पनि यो कोषमा जम्मा गरिँदै छ। यस कामको लागि आफ्नो हात बढाई सहयोग गर्ने सबैप्रति आइटीन धन्यवादी छ।
अब चाँडै नै आइटीनको सबै कार्य आफ्नै भवनबाट सञ्चालन हुनलाई सम्पूर्ण श्रोत, साधन र वातावरण तयार होस् भनी प्रभुसँग प्रार्थना गरौं।
सुसमाचार र सेवा
नेपालको मण्डलीमा हालका वर्षहरूमा सर्वाङ्गीण विकास निकै हुन थालेको छ। साथै मण्डलीमा सर्वाङ्गीण विकास विकासको प्रवर्द्धन गर्न केही एन.जी.ओ. तथा धेरै प्रोजेक्टहरू लागिपरेका छन्। यसै सन्दर्भमा आइटीनका विद्यार्थीहरू पनि यस कार्यमा सजिलो सहभागी हुन सकून् र नेपालको मण्डलीले आफ्नो सेवाको कामलाई सही ढङ्गले बुझ्न सकोस् भन्ने उद्देश्यले नयाँ पाठ्यक्रम नयाँ सुसमाचार र सेवा प्रकाशन भएको छ।
यो पाठ्यक्रम सेआन इन्टरनेशनलको “Mission Mercy & Me” को नेपालीकरण हो। यस पाठ्यक्रमले सुसमाचारको घोषणाको साथमा सेवाको कार्यको महत्त्व र यससँग सम्बन्धित थियोलोजिकल सल्लाह प्रष्ट्याइएको छ। पाठ्यक्रम कुनै पनि मण्डलीमा ५ जनादेखि ८ जनाको विश्वासीहरूको समूहमा गर्न सकिन्छ। समूह सञ्चालन गर्न आइटीनबाट तालिम प्राप्त शिक्षकको आवश्यकता पर्दछ। यस पाठ्यक्रमको अध्ययन अवधि ५ हप्ताको छ तर अध्ययनपछि अध्ययनकै एक भागको रूपमा व्यवहारिकरूपमा कुनै एउटा सेवाको काम प्रोजेक्ट गर्नुपर्ने हुन्छ। इच्छुक समूहले आइटीनमा सम्पर्क राख्नुहोला।
-टंक सुवेदी
|